सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र आफ्नो एकल कार्यकारी नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामै पुगेर भाषण गर्दै नेतृत्वका लागि आफूलाई विश्वास गर्न उनले कार्यकर्ता समक्ष समेत आग्रह गरेका छन् ।
संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै आफू कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत उनले गरे । पूर्वएमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले जननेता मदनभण्डारी आफ्नो सहकर्मी राजनीतिज्ञ भएको र विगतमा पूर्वएमालेको शीर्ष नेतृत्वलाई आफैं प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरे ।
‘जननेता मदन भण्डारी एउटा कम्युनिस्ट पार्टीको महासचिव हुनुहुन्थ्यो, म अर्को पार्टीको,’ अध्यक्ष प्रचण्डले भने– ‘उमेरमा म उहाँजति नभए पनि हाम्रो दर्जा उस्तै थियो । त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरुलाई आग्रह गर्दछु ।’ एक अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको गृहजिल्लामा पुगेर कार्यकर्ताबीच राखेको धारणासम्बन्धी यो खबर भीम चापागाईं र युवराज विवशको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।