असोज ३ गते बिहीबार तीन वटै तहका कर्मचारीहरू राष्ट्रिय झन्डा लिएर प्रभातफेरीमा अनिवार्य सहभागी हुनुपर्ने भएको छ । संविधान दिवसका दिन हातहातमा राष्ट्रिय झन्डा लिएर उपस्थिति हुनेको हाजिर गृह मन्त्रालयमा पठाउने व्यवस्थासहित सरकारले सोको पालना गर्न–गराउन गृहले विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ ।
संघीय, लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि संविधान दिवस मनाउन सरकारले कडाइका साथ यसरी निर्देशन जारी गरेको यो नै पहिलो पटक हो । गृहको पत्राचार अनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई समेत निर्देशन दिएको छ ।
संविधान दिवस मनाउने सम्बन्धमा स्थानीय तहका लागि तोकिएको भूमिका समेत उल्लेख गर्दै त्यसको पालना गर्न–गराउन ७ सय ५३ स्थानीय तहमा पत्रमार्फत निर्देशन दिइएको हो । संविधान दिवस व्यापक र भव्यताका साथ मनाउन त्यस सम्बन्धमा स्थानीय तहका लागि विभाजित कार्यक्रम समेत उल्लेख गरी पत्र पठाइएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिएको खबर सुनील महर्जनको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।