चार वर्षअघि वैशाख १२ को विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणका लागि गोरखाको बारपाकमा बन्दै गरेको स्तम्भको निर्माण लगभग आधा सकिएको छ ।
‘बारपाक भूकम्प स्मृति स्तम्भ’ नाम दिइएको यस स्मारकको निर्माण सोचेअनुसार अगाडि नबढे पनि अहिलेसम्म ५० प्रतिशत निर्माण पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रले भोगेको भूकम्पको सो दुःखद् घडी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको पुनर्निर्माण प्राधिकरण एवं जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाकी प्रमुख सुनीता श्रेष्ठले बताइन् ।
भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा बन्दै गरेको भूकम्प स्मृति स्तम्भको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको जानकारी उनले दिइन् । सो ठाउँमा भूकम्प स्मृति स्तम्भसहितको भूकम्प स्मारक पार्क समेत निर्माण गर्न लागिएको छ । स्तम्भका खम्बाहरू उठाई ‘स्लोप’ ढलानको कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
स्तम्भ तथा पार्क निर्माणका लागि अहिले ‘ल्यान्ड डेभलपमेन्ट’ को काम भइरहेको उनले बताइन् । अहिले सो स्मृति स्तम्भसम्म पुग्न पहुँचमार्ग निर्माण भइरहेको छ । बाटामा कल्भर्ट निर्माण समेत गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको भनाइ रहेको खबर भउचप्रसाद यादवको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।