newskoseli.Com

माधव नेपाल–मातृका यादव एकातिर, केपी ओली–प्रभु साह अर्कातिर : नेकपाभित्रको मधेस मतभेद !

सत्ताधारी नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश– २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तर्विरोध चुलिएको छ । दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेता मान्छन् ।

मधेसमा भने उनीहरू आ–आफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् । पार्टी एकतापछि ओली र साह एकातिर तथा यादव र नेपाल अर्कातिर देखिएका छन् । यही समीकरणका आधारमा नेताहरूले संगठनात्मक भागबन्डा खोजी गर्दा विवाद बढेको हो । यसले गर्दा प्रदेशका ८ मध्ये ३ जिल्ला कमिटीका पदाधिकारीको सपथ रोकिएको छ ।

नेपाल र यादव पक्षका नेता सोमबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई कारबाहीको माग गर्दै अध्यक्ष पुष्पकमल दाहालकहाँ डेलिगेसन पुगेका छन् । सहइन्चार्ज नागेन्द्र चौधरी, महेन्द्र पासवान, नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, भरत शाह, गोपाल ठाकुरलगायत केन्द्रीय सदस्य टोलीमा थिए । उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका यादव भने नयाँदिल्ली पुगेका छन् । यादव मंगलबार फर्किएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र दर्ता गराउने तयारी गरेका छन् ।

नेकपाको २ नम्बर प्रदेश कमिटीमा एक इन्चार्ज, तीन सहइन्चार्ज र एक(एक अध्यक्ष र सचिव छन् । यीमध्ये चार नेता (इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेल) एकातिर छन् । दुई नेता (सहइन्चार्जहरू नागेन्द्रप्रसाद चौधरी र महेन्द्र पासवान) अर्कातिर छन् । इन्चार्ज मण्डल र सचिव प्याकुरेल ओली पक्षका नेता हुन् भने सहइन्चार्ज चौधरी नेपाल पक्षका ।

भदौ २४ मा बर्दिवासमा ओली–साह समूह एकातिर र नेपाल–यादव समूह अर्कातिर भएपछि झडप भएको थियो । त्यसपछि चार नेताको बैठकले नेपालसहितका नेतालाई कारबाही गर्नुपर्ने माग गरेको छ । बर्दिवास घटना नेपाल र यादवको निर्देशनमा भएको निष्कर्ष बैठक निकालेको थियो । नेताद्वयलाई आवश्यक कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन् । सहइन्चार्ज पासवानलाई केन्द्रीय समिति, गंगा पासवान र फुल्गेन नायकलाई प्रदेश कमिटी र पूर्वमन्त्री उमेश यादवलाई साधारण सदस्यबाट हटाउनुपर्ने पनि उनीहरूको माग छ ।

प्रदेश इन्चार्ज मण्डलले नेताहरूलाई थप्पड हान्न खोज्ने, गालीगलौजमा उत्रनेलाई कारबाही नगर्ने हो भने पार्टी नचल्ने बताए । ‘सचिवालयले हाम्रो प्रदेशमा दुई सहइन्चार्ज थप्ने निर्णय गर्‍यो । थपिएका नेताहरूले मसँग आएर सल्लाह गर्नुभएको छैन । हामीलाई के जिम्मेवारी दिनुहुन्छ भनेर आउनुभएको पनि छैन । बैठक बोलाउन खोज्दा उहाँहरूलाई फोन गरेको थिएँ तर आउनुभएन’, उनले भने– ‘तर, उहाँहरू यहाँ आएर पदबहाली गर्नुभन्दा आठै जिल्लामा आफूनिकट नेताहरूको मिटिङ गरेर काठमाडौं जानुभयो ।’

सहइन्चार्ज नागेन्द्र चौधरीले भने प्रदेश कमिटीका पदाधिकारी विधानअनुसार चल्न नखोजे आरोप लगाए । ‘अन्तरिम विधानबमोजिम प्रदेश कमिटीले आफूमध्येबाट एकतिहाइ नबढाई सचिवालय बनाउने, नौजनाको कार्यालय बनाउने व्यवस्था छ, कार्यालय गठन भएको छैन, सचिवालय बनेको छैन, कसले के निर्णय गर्छन् ? त्यसको आधिकारिकता के ?’ उनले भने– ‘प्रदेशका अध्यक्ष र सचिवले गर्ने निर्णय पार्टीको हुन्छ ? जसलाई मन लाग्यो उसलाई कारबाही गर्ने हो र ?’

प्रचण्डको भूमिका ओली र नेपाल दुवैतिर सन्तुलनकारी देखिन्छ । ‘प्रचण्डले मातृका र प्रभुलाई बोलाएर विवाद मिलाउने हो भने मधेसका समस्याले एक प्रकारको समाधान पाउँछ’– नेकपाका एक नेताले भने । सोमबार डेलिगेसन आएका नेतालाई दाहालले सचिवालय बैठकबाट विवादको हल खोज्ने बताएर फर्काएका थिए । ‘मधेसको पार्टी कमिटीमा समस्यै देखियो, आरोप–प्रत्यारोपले कहीं पुगिन्न,’ उनले भनेका थिए– ‘दुवै पक्ष बसेर समाधान खोज्नुपर्छ, सचिवालयले पनि अब निर्णय लिन्छ ।’

सत्ताधारी नेकपाभित्रको मधेस विवादसम्बन्धी यो विस्तृत खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर