डेढ महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक सञ्जाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त ‘प्रधानमन्त्रीको नियुक्तिभन्दा बढी प्रचार भएको’ टिप्पणी पनि गरे ।
सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत ‘रवीन्द्र अधिकारीको उत्तराधिकारी’ का रुपमा भट्टराई आएका थिए । संसद् तथा यस अघिका राजनीतिक मोर्चाहरूमा प्रभावकारी भूमिका नै निर्वाह गरेका युवानेताको मन्त्रिमण्डलमा प्रवेश भएसँगै चर्चा चुलिएको थियो । तर, तिनै युवानेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन् ।
किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका केही प्रतिनिधिमूलक कामहरु जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ । ‘राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाट नजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो ?’ नागरिकस्तरबाट प्रश्न उठेको छ । संस्कृतिकर्मीदेखि धार्मिक अभियन्ता मात्र होइन, उनकै पार्टी नेकपाका नेताले समेत यसको औचित्यमाथि प्रश्न गरिरहेका छन् । भट्टराई भने निर्णयबाट पछि हट्न चाहेका छैनन् । डेढ महिनाअघि उनीप्रति निकै अपेक्षा गर्नेहरू विस्तारै आलोचनातर्फ मोडिएका छन् ।
‘राष्ट्रिय गानसम्बन्धी निर्देशिकाअनुसारै मैले भनेको हुँ तर यो निर्णयपछि आएका प्रतिक्रियालाई मैले नजिकबाट नियालिरहेको छु’– मन्त्री भट्टराईले भने । यो विषयमा उनले थप टिप्पणी गरेनन् । राष्ट्रिय गान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगन्जमा जहाज उडान ढिलाइ भएको घटना बाहिरियो ।
धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो । यसलाई ज्ञानेन्द्र शाहीलगायत व्यक्तिले विमानभित्रै विरोध गरे । यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्स कम्पनीले स्पष्टीकरण दिइसकेका छन् । स्पष्टीकरणले ढिलाइको कारण खुट्याइसक्यो तर यो प्रकरणले केही प्रश्न भने पुनः जन्माइदिएको छ ।
मन्त्री भट्टराईले आइतबार बिहानै ट्विटमार्फत ढिलाइ भएकाका क्षमा मागिसकेका थिए तर उनले क्षमा मागेको विषयभन्दा जहाज रोकेको विषयले सामाजिक सञ्जाल भाइरल भइसकेको थियो । ‘पारस शाहलाई सात लाख हस्ताक्षर बुझाएर दुःख दिने व्यक्ति यही हो’ भन्दै विरोध गर्नेहरूले त्यहाँ बोलेको कुरा मन्त्री भट्टराईले ट्वीटमा उल्लेख गरेका थिए । त्यही कारण नेपालगञ्ज घटनाप्रति मन्त्री भट्टराई बढी सशंकित भए ।
त्यसैले, उनले साँझ स्वकीय सचिव प्रेम गुरागाईंको नाममा नेपालगञ्ज घटना र त्यहाँ देखिएको प्रवृत्तिमाथि टिप्पणी गर्दै विज्ञप्ति जारी गराए । विज्ञप्तिमा प्रयुक्त भाषा पनि विवादमा परेको छ । नेपालगञ्ज घटना र त्यसपछिका प्रतिक्रियालाई लक्ष्य गर्दै विज्ञप्तिमा ‘आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संविधानविरोधी हर्कत जारी राखेका छन्’ भन्ने उल्लेख छ । त्यस्तै यस्ता ‘मण्डले प्रवृत्ति’ को विरोध र धम्कीले रत्तिभर विचलित नहुने पनि बताइएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।