देशभरका स्थानीय तहका प्रमुख र उपप्रमुख प्रायः भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकामा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो ।
नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन् । सोही पार्टीकी रेणु झाले उपप्रमुखमा जितेकी छन् । उमेरका हिसाबले आमा–छोराजस्तै देखिने दुवैबीच चुनावताका आमा–छोराजस्तै व्यवहार देखिन्थ्यो । जब दुईबीच पदीय अधिकारको सवालमा दुरी बढ्न थाल्यो तब पार्टी मौन बसिदियो ।
हुँदाहुँदै उनीहरुबीचको विवाद ज्यानै लिन सक्ने अवस्थासम्म पुग्यो । पटक–पटक दुई समूहबीच भएको झडपमा परी स्थानीय तपेश्वर मण्डलको मृत्यु भएको हो । उनको मत्यु प्रकरणमा नगरप्रमुख मण्डल, उपप्रमुख झासहित केही वडाका अध्यक्षमाथि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । उनीहरु सबै गिरफ्तारी पर्ने डरले कार्यालय नजाने गरेको खबर सुरेश यादवको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।