तत्कालीन नेकपा (माओवादी) ले गठन गरेको जनमुक्ति सेना नेपालबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सरकारले सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ ।
भदौ २६ र ३१ मा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा सो कुराको जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटाका अनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (चार वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको हो ।
अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । शान्ति प्रक्रियाका केही काम अझै टुंगोमा पुग्ने अवस्थामै रहेकाले विगतका विद्रोही पक्षको मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय गरेको बुझिएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।