संविधान दिवसको अवसर पारेर सरकारले घोषणा गरेका पदकहरू विवादरहित बन्न सकेनन् । ‘राष्ट्रिय जीवनमा ख्याति कमाए’ का व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः खासै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयो ।
कार्यकर्ता टिकाउन, बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै समाज र सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी चलिरहेको छ । संविधान दिवसको अवसर पारेर घोषणा गरिएका पदक पाउनेहरूको सूचीमा हेही ख्याति प्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन । मदनमणि दीक्षितजस्ता साहित्यकार र केही पत्रकार पनि सरकारको सूचीमा अटाए ।
तर, ९५ प्रतिशत पदक नेताविशेषका सहयोगी र निकट कार्यकर्ता टिकाउने, बढाउने र दलप्रति आकर्षित गर्ने प्रयोजनकै व्यक्तिहरू चयन गरिएको छ । राज्यले वितरण गर्ने पदक–पद्धतिमा सुधार आउन नसकेका कारण यसमा विवाद सिर्जना भएको टिप्पणी पूर्वमुख्यसचिव विमल कोइरालाले गरेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।