सुन्दा गर्वै लाग्छ– नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । तर, यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २ सय ७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौंबाट १८ जना मात्रै बोकेर उड्यो । ‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो,’ नेपाल वायु सेवा निगमका उच्च अधिकारी भन्छन्– ‘भाडा, दुरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ ।’
लामो गन्तव्य नपाएर एक वर्ष अल्मलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो । निगम दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने– ‘उडाउनुपर्थ्यो नारिता, उडाउन खोजिँदैछ ओसाका ।’
नारिता टोकियोसँगैको विमानस्थल हो । त्यहाँभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु कम हुन्छन् । त्यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो नभएको खबर अखण्ड भण्डारी र राजु बाँस्कोटाको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।