नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएवापत तिर्नुपर्ने पार्किङ शुल्क समेत निकै महँगो पर्छ ।
वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिव दुई लाख रुपैयाँ तिर्नुपर्छ । एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा थन्किएको छ । त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ । हालको विदेशी विनिमय दर ११३ रुपैयाँ अनुसार यसले दैनिक १ लाख ९१ हजार ८ सय ७४ रुपैयाँ पार्किङ शुल्क तिर्छ ।
‘विमानस्थल सेवा शुल्क विनियमावली, २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घन्टासम्म पार्किङ निःशुल्क गरिएको छ । त्यसपछि हरेक ६ घन्टामा एक पार्किङ हुन्छ । एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ । यो शुल्क जहाजको तौलअनुसार लाग्छ ।
निगमसँग एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ । १ सय ९० सिट क्षमताको बी ७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ । यसले दैनिक पार्किङ शुल्क ५५९.२० अमेरिकी डलर (६३ हजार १ सय ८९ रुपैयाँ) तिर्छ । यो मासिक करिव १८ लाख ९५ हजार रुपैयाँ हुन्छ ।
मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाँ तिरिसकेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।