चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमण निश्चित भएसँगै काठमाडौं सहर रातारात सिंगारिन थालेको छ । आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले काम गर्न भ्याइ–नभ्याइ छ ।
नगरपालिकाले बटो सफा गर्न सुरु गरिसकेको छ । तार व्यवस्थापन गर्न सरकारले नेपाल टेलिकमलाई निर्देशन दिएको छ । विद्युत प्राधिकरण र खानेपानी संस्थानलाई कामको जिम्मेवारी दिइसकिएको छ ।
राष्ट्रपति सीको स्वागतमा राजधानीका करिव ४० स्थानमा स्वागतद्वार निर्माण हुनेछन् । सी हिँड्ने सडकमा सरकारी कार्यालय र ठूला बैंकले स्वागत गर्नेछन् । भ्रमण गर्ने रुटमा बाटो सफा गर्ने, जेट मेसिनले बाटो पखाल्ने, ब्रुमर लगाउने, आइल्याण्ड मर्मत गर्ने र फूलसहितका गमला राख्ने, आकाशेपुलमा विशेष सजावट गर्ने, जेब्राक्रस र रेलिङमा रङ लगाउनेलगायतका काम युद्धस्तरमा भइरहेका छन् ।
तीनकुनेमा चार दिनमै बन्दै अस्थायी पार्क : विदेशका राष्ट्रप्रमुख नेपाल प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुनेको खालि जग्गामा तत्कालका लागि अस्थायी पार्क बन्ने भएको छ । करिव चार दिनमै तीनकुनेमा अस्थायी पार्क बनाइने भएको छ । राष्ट्रपति सी असोज २७ मा २४ घन्टाका लागि नेपाल भ्रमणमा आउँदै गरेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।