newskoseli.Com

‘अब नेपाल भूपरिवेष्ठित रहँदैन, भूजडित बन्छ’ : चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धता

नेपालको दुईदिने राजकीय भ्रमणमा काठमाडौंमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा बोल्दै यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । होटल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए ।

‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने– ‘नेपाल र चीनबीच कुनै समस्या रहेको छैन, केवल मित्रता मात्र रहेको छ ।’ चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङमार्ग र रेलमार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि राष्ट्रपति सीले बताए ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तारलाई पनि अर्को पाटोका रूपमा हामीले व्याख्या गर्न सक्छौं भन्दै यसबाट दुवै मुलुक लाभान्वित हुने धारणा उनले व्यक्त गरे । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म कुनै समस्या नभएको बताउँदै उनले भने– ‘शरद ऋतुमा नेपालमा सयौं फूल फुलेका छन्, यही मौसममा म पहिलो पटक काठमाडौंमा छु । यहाँ राजनीतिक स्थायित्व छ, पुराना र नयाँ मित्रहरू भेट्दैछु । म हर्षित छु र आशा जागेको छ ।’

चिनियाँ राष्ट्रपतिको सम्बोधनसम्बन्धी यो खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर