संविधान दिवसको अवसरमा सरकारले सिफारिस गरेको पदक तथा विभूषणमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले असन्तुष्टि व्यक्त गरेका छन् । उच्च तहको विभूषण सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) को क्रम संख्यामा प्रधानमन्त्रीका निजी चिकित्सकभन्दा आफूलाई तल पारिएपछि उनले गृह मन्त्रालयका अधिकारीलाई फोन गरी असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रधान न्यायाधीश राणाको असन्तुष्टिपछि गृह मन्त्रालयको विभूषण शाखाले राजपत्रमा सूचना प्रकाशित गर्दा सच्याउने प्रतिबद्धता जनाएको छ । गृहले सिफारिस सूचना प्रकाशित गर्दा सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) को पहिलो नम्बरमा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह र दोस्रो नम्बरमा प्रधान न्यायाधीश राणाको नाम थियो ।
आफूभन्दा डा. सिंह पदीय मर्यादाका हिसाबले पनि क्रम संख्यामा तल रहनुपर्ने भन्दै राणाले असन्तुष्टि पोखेपछि सच्याउने आश्वासन गृहले दिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।