‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो– ‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो ।
दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्– सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती । गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरुका आँखा रसाउँदै गए ।
उनी भनिरहेकी थिइन– ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु न धर्तीमा हिंड्न । मजस्तै अरु पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर, उनीहरु खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु किनभने मान्छेहले जानून्– के भएको थियो नेपालका महिलामाथि ।’
बर्दियामा जन्मे–हुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ मा तत्कालीन विद्रोही माओवादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बुबालाई पक्राउ गरेको थियो । राति–राति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँ–गाउँमा हिँडिन् । त्यही क्रममा २०५८ मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।
‘अरु साथी भाग्न भ्यए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्– ‘सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता पर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध थियो ।
‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्– ‘नांगै बनाएर ममाथि दुई वटा कुकुर छाडिए अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’
नेपालमै घटाइएको कल्पना समेत गर्न नसकिने एक घटनाको बेलिबिस्तार घनश्याम खड्काको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।