प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटक–पटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका अरु नेताहरुसँग छलफल र भेटघाट बढाएका छन् ।
पछिल्लो समय प्रचण्डले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका छन् । ‘अब उहाँसँग फेरि अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘ओली अब पनि सहमति कार्यान्वयनमा अग्रसर हुनुभएन भने नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त ? स्रोत भन्छ– ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षबीचको जिम्मेवारी बाँडफाँट हो ।’ पार्टी एकीकरणको निर्णय हुँदा २ जेठ, २०७५ मा दुई अध्यक्षले सहमतिका आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । सोही विषयले यतिबेला दुई अध्यक्षबीच सर्वाधिक टकराव बढेको खबर बिनु सुवेदीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।