विरोध खतिवडा, संसद् र संसदीय प्रक्रियाका जानकार । ०४८ देखिकै सांसद । खतिवडाले संसदमा नियमापत्ति जनाउने बित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ । सभामुखदेखि विपक्षी दललाई पनि आच्छु–आच्छु पार्ने स्वभाव छ खतिवडाको ।
नेकपाका केन्द्रीय सदस्य खतिवडाले तीन पटक संसदीय निर्वाचन जिते । एक पटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिइरहेका हुन्छन् । सार्वजनिक लेखा समितिमा प्रभावकारी भूमिका खेलिरहे पनि अवसरका बेला भने नेताहरूको ‘विपक्षी’ कै लाइनमा पर्छन् खतिवडा ।
नेपाल ल क्याम्पसमा अध्ययन गर्दै गर्दा तत्कालीन एमालेले वसन्त नेम्बाङलाई पाँचथर पठायो । कलिलै उमेरमा ०४८ कै संसदीय निर्वाचनमा विजयी भए नेम्बाङ । उनले ०५१ र ०७४ को संसदीय निर्वाचन जिते । मन्त्रिपरिषद् विस्तारको चर्चा चल्यो कि सम्भावित मन्त्री भन्दै नेम्बाङको नाम मिडियामा आउँछ । तर, उनले अवसर पाएका छैनन् ।
‘मन्त्रीको चर्चा भयो कि सुवास नेम्बाङ आफ्ना भाइ वसन्तलाई मन्त्री बनाउन लाग्यो भनेर मिडियामा आउँछ,’ वसन्त निकट एक सांसदले भने– ‘०४८ मै चुनाव जितेर संसदीय प्रक्रियामा प्रवेश गरेको व्यक्ति सुवास नेम्बाङसँग जोडिएर नाम आउँदा कति दिक्क लाग्दो हो ।’
सत्तासीन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ त कोही चिल्लै हुन्छन् । सो पार्टीभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एक जना बाहेक सबै मन्त्री बनिसके । तर, पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुई पटक चुनाव जितेर पनि मन्त्री बन्न वञ्चित छन् ।
गुट र नेता निकटका भने समानुपातिक कोटामा सांसद बनेर पनि छोटै अवधिमा मन्त्री बनिसकेको खबर नरेन्द्र साउदको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।