सुन्धारास्थित शालिमार हस्पिटालिटीको गुलाब ब्रान्ड र त्रिपुरेश्वरस्थित बागमती स्विट्समा भेटिएको बिनालेबल र बिग्रिएका अखाद्य वस्तु नष्ट गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिका तथा उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोलीले शुक्रबार ती पसलको अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको हो । अनुगमनका क्रममा भेटिएका सडेगलेका मिठाइ बनाउने सामग्री नष्ट गरिएको खाद्य प्रविधि विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।
शालिमार हस्पिटालिटीअन्तर्गतको गुलाब ब्रान्डको उद्योगले मिठाइ बनाउन प्रयोग गरेको कीरा लागेको २६ केजी बेसनको पिठो र १० केजी म्याद सकिएको बेसन जफत गरेर नष्ट गरेको हो । यस्तै, मिठाइ बनाउने स्थान निकै फोहोर राखिएको भन्दै अनुगमन टोलीले गुलाब मिठाइ पसलको उद्योगको मुचुल्का उठाएर थप कारबाहीका लागि विभागमा बुझाउने तयारी गरेको अनुसन्धान अधिकृत सुवेदीले जानकारी दिए ।
दसैंको मुखैमा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी सम्मिलित अनुगमनमा पनि गुलाबको मिठाइमा अत्यधिक हानिकारक रङ प्रयोग गरिएको पाइएको थियो । अनुगमनका क्रममा त्रिपुरेश्वरको बागमती स्विट्सबाट अनुगमन टोलीले १० केजी सडेको मिठाइ जफत गरेको छ भने एक–एक केजीका बिनालेबलका १० केजी आलु चिप्स पनि नष्ट गरेको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।