newskoseli.Com

उपनिर्वाचनमा उम्मेदवार छनोटको रस्साकस्सी : रवीन्द्र अधिकारीको क्षेत्रमा विद्या–रंगीलासहित को–को ?

मङ्सिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसभित्र सकस देखिएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो ।

केन्द्रीय नेतृत्वबाट विगतमै पार्टीको विधान मिचेर उम्मेदवार छनोट गर्ने अभ्यास सुरु भएपछि यस पटक पनि जिल्ला नेतृत्वबाट समेत सोही अभ्यास अपनाइएको भनाइ जिल्ला सभापतिहरूको छ । उपनिर्वाचनमा स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गर्न क्षेत्रीय समितिले बढीमा तीन जनाको नाम पठाउनु पर्नेमा १६ जनासम्मको नाम पठाएको छ । विधानमा तीन जनाको नाम पठाउनुपर्ने व्यवस्था छ ।

कास्की– २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले १६ जनाको नाम पठाएको छ । कांग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार क्षेत्रीय सभापति माधव बाँस्तोलादेखि पूर्वउम्मेदवार देवराज चालिसेसम्मको नाम सिफारिस भएको छ । यस्तै, वीरेन्द्रनारायण बिजुक्छे, खेमराज पौडेल, सोभियत अधिकारी, केशर निर्दोषी, ऋषि काफ्ले, लक्ष्मी पाण्डे, रङ्गिला आचार्य, खिमकुमारी बराल, विजयराज आचार्य, गुरु बराल, कृष्ण कार्की, महादेव गुरुङ, विमला भण्डारी र निर्मलप्रसाद कर्माचार्यको नाम केन्द्रमा पठाइएको छ ।

जबकि सो क्षेत्रमा सत्तारुढ नेकपाले दिवंगत अधिकारीकी श्रीमती विद्या भट्टराईको एक मात्र नाम पठाएको छ । कांग्रेस क्षेत्र नं. २ मा दुई धारबीच सहमति नभएपछि सबैको नाम पठाइएको जानकारी सभापति केसीले दिए । पूर्वउम्मेदवार चालिसेको एकल नाम पठाउनेबारे छलफल भए पनि सहमति नभएको उनले बताए ।

भक्तपुर जिल्लाका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले १० जनाको नाम सिफारिस गरेको जानकारी जिल्ला सभापति दुर्लभ थापाले दिए । क्षेत्रीय सभापति जीवन खत्रीले आफू उम्मेदवार नहुने घोषणा गरे पनि सहमतिमा तीन जनाको नाम सिफारिस हुन सकेन । विनोद कायस्थ, सुरेश श्रेष्ठ, यादव अधिकारी, सुभद्रा काफ्ले, हरि नेपाल, मनोजकुमार थापा, कृष्णलाल भँडेल, किरण न्यौपाने, रूपादेवी थापा र उद्धव खड्काको नाम सिफारिस भएको छ ।

उता गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्तीको निधनपछि रिक्त भएको प्रदेशसभा सदस्य पदका लागि क्षेत्रीय सभापति द्रोण कुँवर, टुनासिन घर्तीमगर, टेकराज पौडेल र जिप शेरचन गरी चार जनाको नाम पठाइएको जानकारी जिल्ला सभापति दीपेन्द्र थापाले दिए ।

गण्डकी प्रदेशको दाङ जिल्लाका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचनका लागि कांग्रेसले १४ जनाको नाम केन्द्रमा पठाएको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काका अनुसार, किरण साह, केशवराज शर्मा, खिमप्रसाद खराल, चूणामणि ढकाल, जगत खड्का, टीका घर्ती, भरत केसी, मदन रसिक, शङ्करप्रसाद डाँगी, सुरेश हमाल, घनश्याम सेरपाइली, कच्चु चौधरी, गीता पौडेल र सारा भण्डारीको नाम सिफारिस भएको छ ।

भक्तपुरका सभापति दुर्लभ थापाले क्षेत्रबाट सहमतिमै तीनजनाको नाम पठाए पनि केन्द्रीय नेताले खल्तीबाट निकालेर अन्य व्यक्तिलाई नै उम्मेदवार बनाउने अभ्यास भैरहेकाले प्रदेशसभा निर्वाचन क्षेत्रबाट जे–जस्ता नाम आए त्यसलाई नै केन्द्रमा पठाइएको बताएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर