बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले ‘राजनीतिक रूपमा फसाउन आफूविरुद्ध षड्यन्त्र रचिएको’ दाबी गरेका छन् ।
संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले बन्द इजलासमा शुक्रबार आफूले सभामुख पद र ओहोदाको मर्यादा राखेको बयान दिएका हुन् । पाँच घन्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो ।
‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ, केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो– ‘एउटा सबालमा उहाँले मैले ओहोदाको मर्यादा राखेको छु, पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ; आफूलाई फसाउन राजनीतिक षड्यन्त्र रचिएको भनाइ समेत छ ।’
जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै महराले बयानमा आफू सामान्य प्रकृतिको व्यक्ति रहेको कुरा राखेका छन् । ‘उहाँले आफूमाथि लगाइएको अभियोग झुटा हो भन्नुभएको छ, राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो– ‘आफूलाई फसाइएको हो भन्नेमै उहाँको जोड छ ।’
बलात्कार प्रयासको अभियोगमा महरालाई सात वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको खबर यम बिरहीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।