प्रतिनिधिसभा सदस्यका लागि कास्की– २ मा हुने उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । भट्टराई दिवंगत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।
शनिबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार चयनका लागि नेकपा कास्कीले गरेको सिफारिसलाई अनुमोदन गर्दै भट्टराईको नाम स्वीकृत गरेको हो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने– ‘जिल्ला कमिटीले यसअघि गरेको एकल नामको सिफारिसलाई आज (शनिबार) बसेको केन्द्रीय सचिवालयको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ, घोषणाको काम भने भोलि (आइतबार) मात्र होला ।’
१४ मंसिरमा हुने उपनिर्वाचनअन्तर्गत देशको एक मात्र रिक्त प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले २१ कात्तिकमा उम्मेदवारी दर्ताको समय तय गरेको खबर विजय नेपालको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।