newskoseli.Com

राजाहरूले भोज ख्वाउने नारायणहिटीभित्रैको ‘लमजुङ कक्ष’ भाडामा !

नारायणहिटी संग्रहालयभित्रको ‘लमजुङ कक्ष’ लाई ‘ड्रिंक्स र डिनर’ सहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गरी भाडामा दिने तयारी भएको छ ।

देशभरका ऐतिहासिक र पुरातात्त्विक संग्रहालयलाई संरक्षण गर्ने जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यस अन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी गरेपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन् । असोज ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रहालय अवलोकन गर्दै संग्रहालयको ‘लमजुङ कक्ष’ मा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए ।

अवलोकन गर्दै मन्त्री भट्टराईले कामविहीन अवस्थामा रहेको सो कक्षलाई ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को सुरुआतमै खोल्ने गरी तयारी गर्न निर्देशन दिएका थिए । ९० सिट भएको डाइनिङ हल अत्याधुनिक छ । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले विदेशी पाहुनालाई सोही हलमा रात्रिभोज दिने व्यवस्था थियो ।

नेपालका राष्ट्रप्रमुखको हैसियतले राष्ट्रप्रमुखले ‘ड्रिङ्क्स टोस्ट’ गरेपछि सो हलमा पार्टी सञ्चालन हुने गरेको थियो । ‘पछिल्लो समय होटल सोल्टीबाट सो हलमा खाने कुरा ल्याउने र ‘सर्भ’ गर्ने गरिन्थ्यो । तर, अहिले शाहकालीन ऐतिहासिक हललाई शुल्क तिरेर खान मिल्ने गरी खोल्ने तयारी गरिएको छ’– संग्रहालयका एक कर्मचारीले भनेको खबर ईश्वरराज ढकालको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर