उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्बिर भाइरल हुन पुगेपछि एक जना पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ ।
जनवरीमा गुइलिन चिनियाँ सहरबाट एयर गुइलिन उडानमार्फत याङगझोउ सहरतर्फ उड्ने क्रममा सो तस्बिर लिइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले खुलासा गरेको छ । तर, यसै साता मात्र उक्त तस्बिर सामाजिक सञ्जालमार्फत ‘भाइरल’ हुन थालेपछि एयरलाइन्स आफ्ना ती पाइलटलाई कारबाही गर्न बाध्य भएको बताइएको छ ।
ककपिटमा पोज दिएर बसेकी ती परिचय नखुलाइएकी महिलाको छेउमा खानपिनका सामानहरु राखिएको तस्बिरमा देखिन्छ । एयर गुइलिनले औपचारिक विज्ञप्तिमार्फत ती पाइलटले उडानका दौरान सुरक्षा नीति नियम उल्लंघन गरेको तथ्य स्वीकारेको छ । आफ्नो औंलाले ‘भी’ संकेत दिएर तस्बिरका लागि पोज दिएकी ती महिलाले क्याप्सनमा लेखेकी छन्– ‘धन्यावाद क्याप्टेन ! धेरै खुसी लागेको छ ।’
छिमेकी मित्रराष्ट्रको एउटा सामान्य लाग्ने तर गम्भीर विषयको यो खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।