सवारी दुर्घटनाका कारण हरेक दिन ७ जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको ५ वर्षमा सवारी दुर्घटनामा परी करिव १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिव १२ हजार पुगेको पाइएको हो । जसअनुसार आर्थिक वर्ष २०७१/७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
यस्तै, आ.व. २०७२/७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३–७४ मा २ हजार ३ सय ८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५ सय ४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७ सय ८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ ।
५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २ सय ३७ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीले तयार पारेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३ सय ६६ सवारी दुर्घटनामध्ये चालकको लापर्बाहीबाट मात्रै ९ हजार ९ सय १९ दुर्घटना भएको छ ।
यस्तै, तीव्र गतिका कारण गत वर्ष मात्रै २ हजार १ सय ७१ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनबाट ४ सय १६ दुर्घटना भएका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १९ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा समेत चालकको लापर्बाही नै पहिलो कारण देखिएको छ । क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएका कारण सो दुर्घटना भएको प्रहरीले बताएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।