दिल्लीको धुलोले नेपाल–भारत सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेका छन् । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको तराई क्षेत्रसम्म आइपुगेको देखाएको हो ।
नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौंमा भने नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।
राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ब्रुमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलोको प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ देखि पाँचवटा ब्रुमर परिचालन गरेको खबर चाँदनी हमालको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।