८ सय ७८ पृष्ठ प्रहरीको अनुसन्धान र ३९ पृष्ठ जिल्ला सरकारी वकिलको कार्यालयको अभियोजनपत्रसहित दायर भएको प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमका तीनवटा मुद्दामाथिको बुधबारको बयानमा ३४ प्रश्न सोधिए । जिल्ला अदालत गौरका न्यायाधीश दीपक ढकालले इजलासमा पेस गरिएका प्रतिनिधिसभाका आलमलाई बुधबार कर्तव्य ज्यानसम्बन्धीका ३४ वटा प्रश्न सोधिए ।
समय अभावका कारण बुधबार बयान नसकिएपछि आलमलाई बिहीबार भने ज्यान मार्ने उद्योग र बम बिस्फोटसम्बन्धी प्रश्न सोधिने जाहेरवालाका अधिवक्ता पुष्पराज पौडेलले बताए । कर्तव्य ज्यानसम्बन्धी सोधिएका प्रश्नमा निलम्बित सांसद आलमले इन्कारी बयान दिएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनको ठीक अघिल्लो दिन ०६४ चैत्र २७ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका आलमका काका शेष इद्रिसको गोठमा भण्डारण गरी राखेको बम विस्फोटका क्रममा भएको व्यक्ति हत्या, घाइते र बम विस्फोटलाई आधार मानेर प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजनपत्रले निलम्बित सांसद आलमलाई जिल्ला अदालत गौरले थुनछेकका लागि बयान लिइरहेको हो ।
२३ दिन लगाएर प्रहरीले गरेको अनुसन्धानपछि किटानी जाहेरीमा उल्लेख गरिएका पाँच जनासहित थप ६ जना गरी ११ जनालाई प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छन् । तर, घटनाको ढाकछोप गर्ने प्रहरीका तत्कालीन अधिकारीलाई भने साक्षीका रूपमा प्रस्तुत गरिएको छ ।
आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत गौरमा अभियोगपत्र दर्ता गराएपछि मंगलबार र बुधबार दुई दिन उनको बयान भएको र यो क्रम बिहीबार पनि जारी रहने खबर सञ्जय कार्कीको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।