नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन् । सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ ।
भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ । कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लो पटक जारी गरेको नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ ।
भारतले काली नदीको यथार्थ स्वीकारेका कारण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भूभाग फिर्ता ल्याउनुपर्ने सीमा अध्येताहरूले बताएका छन् । कुनै बेला एक व्यक्ति वा समूहको मानवीय गल्तीका कारण गुमेको हुन सक्ने भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको नदीविद् जगतप्रसाद भुसालले बताए । ‘यी ठाउँबाट भारतीय सेना तत्काल हटाउनुपर्छ’– उनले भनेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।