newskoseli.Com

राजीनामा दिँदै उपसभामुख : सभामुख आफैं राख्ने नेकपाको रणनीति

संघीय संसदको अधिवेशन आह्वानसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै उपसभामुखको राजीनामा गराउने तयारी नेकपाले गरेको हो ।

उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैंसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अहिलेसम्म अधिवेशनको मिति र सभामुखको उम्मेदवार दुवै निश्चित भइसकेका छैनन् ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्थाछ । सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने समेत संविधानमा उल्लेख छ ।

यसअघि पनि तत्कालीन एमाले र माओवादी केन्द्रले उक्त पद बाँडफाँट गरेका थिए । नेकपाको एकीकरणपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुईमध्ये एक पद छाड्नुपर्ने माग गरेको थियो । यही मुद्धा अदालतमा मुद्दा विचाराधीन भएपछि उक्त विवाद तत्कालका लागि सेलाएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप लागेपछि उनले पदबाट राजीनामा दिए । महराको राजीनामासँगै सभामुख पद नेकपाले आफैंसँग राख्न उपसभामुखको राजीनामा अनिवार्य छ ।

संवैधानिक परिकल्पनाअनुसार सभामुख–उपसभामुखको मनोनयनअघि पार्टीले उपयुक्त निर्णय लिने नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ बताउँछन् । ‘संविधानले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने व्यवस्था गरेको विषय हाम्रो जानकारीमा छ,’ नेम्बाङ भन्छन्– ‘सभामुख चयनको निर्वाचनअघि पार्टीले यस विषयमा उपयुक्त निर्णय लिन्छ ।’

सभामुख चयनको सकससम्बन्धी यो खबर नारायण काफ्लेको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर