सीमा विवादबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा ‘अभूतपूर्व राष्ट्रिय सहमति’ प्रकट गरेको छन् । शनिबार साँझ बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताएका हुन् ।
बैठकमा सहभागीहरूले सीमा समस्याको विषयलाई राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने सुझाव दिएका थिए । मन्त्री ज्ञवलीले भने– ‘सबैको एउटै स्वर छ, कालापानी क्षेत्रभित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढंगले नेपालको भूभाग हुन् ।’
महाकालीको उद्गम लिम्पियाधुराबाट बग्ने कुटियाङ्दी नदी हो । नेपालको सीमाना त्यहाँसम्म विस्तार भएको छ । यो राष्ट्रिय सहमति र राष्ट्रिय एकतालाई आधार बनाएर नेपाल सरकारले भारत सरकारसँग प्रभावकारी कूटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउनुपर्छ भन्नेमा सत्तापक्ष, प्रतिपक्ष, पूर्वप्रधानमन्त्रीहरु, सरोकारवाला र विज्ञहरुले एकमतका साथ सरकारलाई सुझाव दिएको खबर दीपक श्रेष्ठको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।