भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगी अड्डामा गहन छलफल भएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले पनि चासो देखाएको हो ।
नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्नु नहुने भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले अन्य तीन सुरक्षा निकायका प्रमुखसँग समेत छलफल चलाएका छन् । नेपाली भूभागमा रहेका भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्ने कूटनीतिक एवं रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा तिनलाई कसरी फिर्ता पठाउने भन्ने विषयमा जंगी अड्डामा सुरक्षा प्रमुखहरुबीच बहस भएको उच्च सैन्य स्रोतले बताएको छ । प्रधानसेनापति थापाले सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्था र सहकार्यबारे छलफल राखेको भए पनि भारतीय सीमा अतिक्रमणबारे बहस भएको एक सुरक्षा अधिकारीले बताए ।
‘प्रधानसेनापति थापाले उपनिर्वाचन र सार्क मुलुक सम्मिलित खेलकुद (साग) को सुरक्षा लगायतमा छलफल गर्न जंगी अड्डामा बोलाएका थिए,’ ती सुरक्षा अधिकारीले भने– ‘तर, छलफल समग्र सुरक्षा विषयमा भयो, अमेरिकाले निकालेको प्रतिवेदनदेखि भारतीय सुरक्षाकर्मीले सीमामा गरेको अतिक्रमणसम्मको छलफल भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि जंगी अड्डा पुगेका थिए । सुरक्षा निकायको छलफल भएको सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले स्वीकार गरे पनि त्यो नियमित छलफल मात्रै भएको उनले बताए । ‘यो नियमित छलफल हो,’ प्रवक्ता पाण्डेले भने– ‘उपनिर्वाचन, साग र समग्र सुरक्षा अवस्थाबारे नियमित ब्रिफिङ भएको हुनुपर्छ ।’
संवेदनशील राष्ट्रिय परिवेशमा देशको मुख्य सुरक्षा निकायको चासोसम्बन्धी यो खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।