जुवा खेलिरहेको अवस्थामा कात्तिक ९ मा महाराजगञ्जस्थित एक घरबाट समातिएका जुवाडेहरूमा स्वास्थ्य समस्या देखिएपछि उनीहरुमाथि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । तिहारका बेला महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले झन्डै तीन करोड रूपैयाँसहित २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो ।
उनीहरु बिरामी परेपछि प्रहरीले अस्पताल लैजाने र ल्याउने गरिरहेको छ । केही बिरामीको अवस्था गम्भीर देखिएकाले अस्पतालमै भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएकाले कारबाही छल्न खोजेको चर्चा चलेपछि प्रहरीले त्यसतर्फ चासो दिएको छ । उनीहरुमाथि अनुसन्धानका लागि वृत्तले आइतबारै जिल्ला अदालत काठमाडौंबाट दुई दिनको थप म्याद पाएको छ ।
दसैं–तिहारका बेला जुवा खेलिरहेका ६ सय जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट ३ करोड ३० लाख १२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । सामान्य जुवाडेलाई कारबाही गरेर प्रहरीले छाडिसकेको छ । मोटो रकमसहित पक्राउ परेका केहीले कारबाही छल्न स्वास्थ्य समस्या देखाउने गरेको प्रहरीले बताउँदै आएको छ ।
मोटो रकमसहित पक्राउ परेका २५ जनामध्ये केही जुवाडे सातायता ह्याम्स हस्पिटलमा उपचाररत छन् । मोटो रकमसहित पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, पवित्रकुमार कार्की, बलराम सापकोटा (बले), सोहेल कार्की, पवनकुमार गुप्ता, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, शम्भुकुमार बुढाथोकी, रञ्जन राजवंशी र मुकुन्द बस्नेतको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको छ ।
हस्पिटलमा उपचारत केहीले कारबाही छल्न त्यसो गरेको शंका भएपछि प्रहरीले अस्पतालसँग पनि सोधपुछ गरेको छ । ‘केहीले कारबाही छल्न त्यसो गरेको भेटियो भने निको भएपछि कारबाही गर्छौं’– महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने । केही दिन अस्पतालमा बसे पनि निको भएपछि तोकिएबमोजिम थुनामा राखिने उनले बताएको खबर शिवहरि घिमिरेको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।