संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारत सरकारले २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि सरकारको आधिकारिक धारणा माग्दै समितिले यस्तो निर्देशन दिएको हो । सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समितिले निर्देशन दिएको हो ।
सोमबार बसेको समितिको बैठकले सरकारलाई दिएको निर्देशनमा भनिएको छ– ‘सो क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम राख्न तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक पहल गर्नुपर्दछ । दुई देशबीचको कूटनीतिक पहलबाट समस्या समाधान नभएमा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत नेपाल सरकारलाई सुझाव छ ।’
भारतीय अतिक्रमणविरुद्ध संसदीय समितिको पहलसम्बन्धी यो खबर सविन शर्माको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।