सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिदेखि स्थायी समितिसम्मको सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । एकतासँगै पार्टीलाई चुस्त र दुरुस्त बनाउने भनिए पनि अहिलेसम्म पोलिटब्युरो नै गठन हुन सकेको छैन ।
पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्यहरू पनि आफूले जिम्मेवारी नपाएका कारण पार्टी चलायमान बन्न नसकेको गुनासो गरिरहेका छन् । एकतापछि पार्टी केन्द्रीय समितिको बैठक समेत बस्न सकेको छैन । केन्द्रीय सदस्यहरूको शपथ र दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउनका लागि एउटा संक्षिप्त बैठक बसे पनि केन्द्रीय समितिको दोस्रो बैठक आजसम्म बस्न सकेको छैन ।
पार्टीको विधानअनुसार ६–६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रीय समितिको बैठक बस्नै सकेको छैन । आफू पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीका तल्ला तहसम्म जाँदा पार्टी नीति तथा गतिविधिबारे जानकारी नै नपाएको व्यक्तिका रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता रहेको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।
यसैगरी, तीन–तीन महिनामा बस्नुपर्ने पार्टी स्थायी समितिको बैठक पनि झन्डै एक वर्ष बित्न लाग्दा समेत बस्न सकेको छैन । नेकपाको अन्तरिम विधानमा तीन–तीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ । गतवर्ष पुसपछि स्थायी समितिको बैठक बसेको छैन ।
स्थायी समिति नबसेकै कारण ३१ साउनमा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै कार्यान्वयन भएको छैन । स्थायी समितिको बैठक नबस्दा थुप्रै काम अड्किएको खबर सविन शर्माको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।