newskoseli.Com

फेरि मिर्गौला प्रत्यारोपणको सुरसारमा ओली : प्रचण्डलाई ‘कार्यकारी’, ईश्वरलाई ‘कार्यवाहक’

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक १२ र १३ मा दुईपटक डायलाइसिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता सक्रियता ह्वात्तै बढाएका छन् । बालुवाटारमा बैठक बाक्लिएका छन्, निर्णयहरू धमाधम हुँदैछन् । प्रधानमन्त्री ओलीले छलफल र भेटघाटको शैली पनि परिवर्तन गरेका छन् । स्रोतका अनुसार उनले असन्तुष्ट पक्षको समेत कुरा सुन्दै गुनासो सम्बोधनमा प्रयास गर्ने वचन दिएका छन् ।

कालापानीबारे गत शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली करिव चार घन्टा व्यस्त भए । त्यसपछि आइतबार नेकपाको सचिवालय बैठकमा करिव दुई घन्टा बिताए । मंगलबार नेता माधवकुमार नेपालसँग पनि चार घन्टा छलफल गरे । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिव दुई घन्टा छलफल गरे । बिहीबार पनि प्रचण्डसँग चार घन्टा र माधव नेपालसँग डेढ घन्टा लामो छलफल गरे । बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । त्यसलगत्तै प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता गोकुल बास्कोटा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीको यी छलफल सरकार र पार्टीको काम तथा आफ्नो स्वास्थ्यको विषयमा केन्द्रित रहेका छन् ।

प्रधानमन्त्री ओलीले दाहाल र नेपालपछि आफूनिकट नेताहरूसँग सरकार र पार्टी सञ्चालनलगायत विषयमा कुराकानी गरेका हुन् । नेकपाका ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेका छन् । तीन दिनयता ओली र दाहालबीच यिनै विषयमा घनिभूत छलफल भइरहेको उनको भनाइ छ ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली फेरि एक पटक मिर्गौला प्रत्यारोपण गर्ने मनस्थितिमा छन् र यस विषयमा छलफल चलिरहेको छ । प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई बिदाइ, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको काम तत्काल टुंग्याउन चाहेको ती मन्त्रीले बताएको खबर बिनु सुवेदीको बाइलाइनमा बालुवाटारमा ‘म्याराथन’ बैठक शीर्षकमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर