नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने गरी तयारी अघि बढाएको छ ।
अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी सेनाले केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’ को स्थापना गरेको छ । सीमाको अनुगमन, निरीक्षण तथा सर्भे गर्ने र सोबाट प्राप्त अवस्थाको सुझाव सरकारलाई दिने गरी सेनाले ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’ को स्थापना गरेको नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
‘सीमा क्षेत्रको अनुगमन तथा सर्भे समेत गर्ने गरी सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना भएको हो,’ सैनिक प्रवक्ता पाण्डेले भने– ‘निर्देशनालयले विभिन्न समयमा प्राप्त तथ्य तथा दस्तावेजको अध्ययन समेत गरी प्राप्त विवरणसहितको सुझाव सरकारलाई दिनेछ ।’ राष्ट्रियताको रक्षार्थ नेपाली सेनाको सक्रियतासम्बन्धी यो खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।