राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अवस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ ।
अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले २२ कात्तिक (शुक्रबार) को साँझ गच्छदारसँग चार घन्टा लामो बयान लिएका हुन् । अख्तियारले साँझ ५ बजेदेखि ९ बजेसम्म गच्छदारसँग बयान लिएको हो । बयानका क्रममा मन्त्रिपरिषदको नीतिगत निर्णय भएकाले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको भन्दै गच्छदारले आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए ।
‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले निर्णयमा हस्ताक्षर गरेर मन्त्रिपरिषदमा पठाएको हुँ, यसमा मेरो कुनै दोष छैन,– गच्छदारको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो । प्रमुख विपक्षी कांग्रेसका उपसभापति समेत रहेका गच्छदारलाई बयान नलिन अख्तियारमाथि नै उच्च दबाब पर्दै आएको थियो । तर, दबाबका बाबजुद अख्तियारले गच्छदारसँग बयान लिएको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।