बहुचर्चित मेलम्ची खानेपानी आयोजना कहिले र कसरी पूरा हुने भन्नेबारे अझै अन्योल कायमै छ । तर, यसैबीच मेलम्ची आयोजनाको खानेपानी नपुग्ने भनिएका काठमाडौं उपत्यकाका केही भागमा सरकारले सिस्नेरी खोलाको पानी ल्याउने तयारी थालेको छ ।
सरकारले उपत्यकाको ललितपुर क्षेत्रभित्र खानेपानी आपूर्तिलाई सहज पार्ने उद्देश्यले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने तयारी थालेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन (भ्याली) बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको जानकारी खानेपानीमन्त्री विना मगरले दिएकी छन् ।
मन्त्री मगरको नेतृत्वमा शुक्रबार बोर्डका पदाधिकारीसहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण समेत गरेको छ । खानेपानीमन्त्री मगरले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिइन् । उपत्यकाको जनसंख्यालाई मेलम्ची खोलाको पानीले सन् २०३० सम्म मात्रै धान्न सक्ने आँकलन गर्दै बढ्दो जनसंख्यालाई समेत मध्यनजर गरी त्यसको विकल्प पनि हेर्नुपर्नेमा उनले जोड दिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।