दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालय हटाएर थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा साढे पाँच अर्ब रूपैयाँ अनियमितता भएको पाइएको छ । दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’ मा मासिक १ करोड ८० लाख रूपैयाँ भाडा लिनुपर्ने भए पनि यती होल्डिङ्सको भगिनी संस्था थामसेर्कुलाई ४० लाख रूपैयाँमै उपलब्ध गराइएको कागजातबाट देखिएको छ ।
नेपाल ट्रस्टले बनाएको मूल्यांकन समितिले ट्रस्टको स्वामित्वमा दरबारमार्गमा रहेको १ रोपनी १४ आना जग्गा ३० वर्षलाई लिजमा दिँदा ६ अर्ब ४५ करोड प्रस्ताव गरेको समाचारमा उल्लेख छ । तर, नेपाल ट्रस्टले मूल्यांकन समितिको प्रस्ताव लत्याउँदै थामसेर्कुलाई भवन निर्माणको लागत कटौती गरेर १ अर्ब ४० करोड रूपैयाँमा लिजमा दिएको हो ।
दरबारमार्गमा रहेको उक्त जग्गा लिजमा दिँदा साढे ५ अर्ब रूपैयाँ अनियमितता भएको पुष्टि हुने नेपाल ट्रस्टकै उच्च अधिकारीहरूको भनाइ छ । नेपाल ट्रस्टको कार्यालयलाई दरबारमार्गबाट विस्थापित गरेर उक्त ठाउँमा थामसेर्कु ट्रेकिङ प्रा.लि. ले पाँचतले सपिङ कम्प्लेक्स खडा गरिरहेको छ । उक्त जग्गा पूर्वराजपरिवारको नामबाट नेपाल ट्रस्टको नाममा आएको हो । नेपाल ट्रस्टको कार्यालय भने त्यहाँबाट कमलादीमा सरेको छ ।
प्राप्त विवरणअनुसार नेपाल ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा लिज सम्झौता भएको थियो । सम्झौतामा थामसेर्कु ट्रेकिङ प्रा.लि. ले १ रोपनी १४ आना जग्गा र त्यसमा बनेका संरचना प्रयोग गरेवापत ट्रस्टलाई मासिक ४० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने उल्लेख रहेको खबर सुनील सापकोटाको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।