दुग्ध विकास संस्थानलाई २२ लाख १९ हजार ६ सय ६८ रुपैयाँ क्षति पुर्याएवापत सोही बराबर बिगो दाबी गर्दै दायर भ्रष्टाचार मुद्दामा दूध डिस्ट्रिब्युटर गोकुल निर्माण सेवाका ठेकेदारलाई जम्मा २ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशत्रय कृष्ण गिरी, चन्द्रबहादुर सारु र डा. रवि शर्मा अर्यालको इजलासद्वारा दूध डिस्ट्रिब्युटरका ठेकेदार गोकुल अर्याललाई जम्मा २ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको विशेष अदालतका सूचना अधिकारी तथा उपरजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिएका हुन् ।
दुग्ध विकास संस्थानले काठमाडौं उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य विजनेस प्रालिलाई ठेक्कामा दिएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरेर टेन्डर नै नगरी पुनः सम्झौता गरेर संस्थानलाई ठूलो आर्थिक नोक्सानि पुर्याएको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
दुग्ध विकास संस्थानलाई हानि–नोक्सानी पुर्याउने बदनियतका साथ सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासनसम्बन्धी विनियमावली २०६६ का साथै दुग्ध विकास संस्थान खरिद व्यवस्थापन शाखा, प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभाग समेतको सिफारिस–रायविपरीत २२ माघ, २०६९ मा सम्झौता गरिएको थियो ।
प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५५ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गराई अस्वाभाविक बढी भुक्तानी लिई सो सम्झौतामार्फत आफूहरूलाई फाइदा र दुग्ध विकास संस्थानलाई हानि–नोक्सानी पुर्याएको पुष्टि हुन आएको अख्तियारको दाबी रहेको खबर नीराजन पौडेलको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।