कारागारमा ‘राम्रो सुविधा’ नभएको र आफूलाई ‘असहज’ भएको भन्दै कैदी मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका छन् ।
महरालाई डिल्लीबजारमा राखेर आफूलाई नख्खुमा राखिएको बताउँदै महरासँगै डिल्लीबजार कारागारमै सार्न उनले माग गरेका हुन् । राजपुर बमकाण्डका अभियुक्त आलमलाई गौरबाट ललितपुरस्थित नख्खु कारागार सारेपछि उनीमाथि निगरानी बढाइएको छ । आलमलाई भेट्न आउनेको संख्या बढी भएको र सुरक्षा ‘थ्रेट’ लाई समेत महशुस गर्दै निगरानी बढाइएको कारागार कार्यालयले जनाएको छ ।
चौतर्फी निगरानीमा बसेका आलमले प्रहरीमार्फत कारागार कार्यालयलाई ‘चिट’ पठाएका थिए । उक्त चिटमार्फत आफूलाई अन्यत्र सार्न उनले माग गरेका छन् । हिन्दी भाषामा लेखिएको सो ‘चिट’ मा आफूलाई असुरक्षा महशुस भएको र अव्यवस्थित भएको लेखेका छन् । तर, कारागार कार्यालयले भने यस विषयमा कुनै जवाफ दिएको छैन ।
सरकारले दिएको सेवा–सुविधा सबै कैदी र थुनुवाका लागि समान हुने भएकाले यसबारे कुनै जवाफ दिन नमिल्ने कारागार प्रशासनले बताएको छ । ‘कारागारभित्र पनि घरमा जस्तै सुविधा खोजेर हुन्न, सरकारले जे–जे सुविधा दिनू भनेका छ, हामीले ती सुविधा दिएका छौं,’ कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले भने– ‘यदि माथिल्लो निकायले नै सार्ने निर्णय गर्यो भने हामीले केही भन्न मिल्दैन तर यहाँभित्र पसेपछि सबै कैदीको अधिकार समान हुन्छ ।’
अकल्पनीय हत्याकाण्डका एक अभियुक्तले प्रशासनलाई दिएको ‘टर्चर’ सम्बन्धी यो खबर शिवहरि घिमिरेको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।