प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ ।
मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउन सोमबार नै शीतलनिवास जाने तयारी थियो । तर, अध्यक्षद्वयबीच सहमति नभएपछि राष्ट्रपतिसँग भेट गर्न जाने कार्यक्रम रद्द भएको थियो ।
‘सहमति नजुट्नुको कारण निकटस्थ र आफन्तको संरक्षण कसरी भन्ने नै हो’– स्रोतले भन्यो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री विना मगरको सट्टा नयाँ मन्त्री नियुक्त गर्न चाहेका छन् । उनी पूर्वएमालेबाट पनि महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमध्ये केही मन्त्रीलाई पदमुक्त गर्ने योजनामा छन् ।
पूर्वमाओवादी पक्षबाट मन्त्री बनेकी खानेपानीमन्त्री मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ । छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रिपरिषदबाट झिक्दा प्रचण्डले नै प्रस्तावित गरेका पूर्वएमालेतर्फका एक मन्त्रीलाई झिक्नेसम्मका प्रस्ताव गरे पनि प्रचण्ड सहमत नभएको स्रोत बताउँछ ।
मंगलबार फेरि छलफल गर्ने भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । स्रोतका अनुसार अध्यक्षद्वयले निर्णायक निष्कर्ष निकाल्न नसकेका कारण मंगलबार पनि मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना न्यून छ । दुई अध्यक्षले यस विषयमा थप छलफल गर्ने भनिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
अपडेट/खण्डन–
यद्यपि अध्यक्ष प्रचण्डको निजी सचिवालयले मंगलबार बिहान यो समाचारको खण्डन गरेको छ । अध्यक्ष प्रचण्डको फेसबुक पेजमा प्रकाशित नोटमा भनिएको छ– ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।
मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’
फेसबुक पेजमै हेर्नोस्, जस्ताको तस्तै–