मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो । यही कारण सरकारी काम समेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे– ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ?’
‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने– ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला । चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ । त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला ।’
प्रधानमन्त्रीको यो भनाइले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ । ‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ । यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु । सामान्य हेरफेर हुन्छ । हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन । कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले बैठकमा भनेका कुरा उद्धृत गर्दै एक मन्त्रीले भने– ‘कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद । यसलाई अन्यथा नलिइदिनुहोला, कसैले चित्त नदुखाउनुहोला ।’
त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए– ‘मन्त्रिपरिषद् पुनर्गठनको विषय के हो ? यो हुन्छ कि हुन्न ? हुन्छ भने गरिहाल्नुपर्यो, हुँदैन भने पनि हुँदैन भनेर स्पष्ट पार्नुपर्ने भयो । बाहिर मान्छेहरूले मन्त्रीहरू आजका हुन् कि भोलिका भनेर प्रश्न गर्न थालिसकेका छन् । यसले राम्रो सन्देश गएको छैन ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन् । उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन् ।
को–को फालिँदैछन् ?
मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ । तर, पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले यीमध्ये केहीचाहिँ रहने र फालिने अझै यकिन नभएको स्रोतले जनायो ।
महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने प्रधानमन्त्रीको तयारी छ । यसका लागि उनले अर्का अध्यक्ष प्रचण्डसँग सहमति लिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए । क्याबिनेट हेरफेर गर्दा दोहोरिने केही बहालवाला मन्त्रीहरूको जिम्मेवारीमा समेत ओलीले हेरफेर गर्न सक्ने स्रोतले बताएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।