भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।
भवनमा रहेका कार्यालयहरूका सामान स्थानान्तरण गर्ने स्थानको अभावमा काममा ढिलाइ भएको प्राधिकरणले जनाएको छ । भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई अहिले स्थानान्तरण गरिएको छ । प्रबलीकरण दुई वर्षमा सक्ने प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताएका छन् ।
बबरमहल प्रबलीकरणको ठेक्का जिसी–आशिष–समानान्तर जेभीलाई दिइएको छ । निर्माण कम्पनीले ८६ करोड २ लाख ५२ हजार रुपियाँको लागतमा प्रबलीकरण सम्पन्न गर्ने गरी काम भइरहेको छ । भूकम्पअघि बबरमहलमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक र निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थिए । हाल यी कार्यालयहरू अन्यत्र सरेका छन् ।
बबरमहलको प्रबलीकरणमा परम्परागत निर्माण सामग्रीहरू– चुना, सुर्की, काठलगायतका वस्तुको प्रयोग गरिने उपनिर्देशक विश्वकर्माले बताए । भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायहरूलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने उनले बताए ।
अहिले भएको बबरमहलको तीनतले भवन चन्द्रशमशेरले आफ्ना छोरा बबरशमशेरका लागि बनाएको इतिहासकारहरूले बताउने गरेको खबर शान्ति लामाको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।