नेपालको संविधान, २०७२ जारी भएलगत्तै त्यसप्रति चरम असन्तुष्टि व्यक्त गरेर संविधान संशोधनको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै यतिबेला संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
डेढ वर्षअघि स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा गएका उनले बिहीबारदेखि कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी पाएका छन् । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष समेत रहेका यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारितापूर्ण र निरंकुश रहेको प्रतिक्रिया डा. भट्टराईले दिएको खबर सविन शर्माको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।