नेकपाकाी स्थायी समिति सदस्य थममाया थापाले २१ महिनासम्म मन्त्रीमा बहाल रहँदा जरुरी परेका बेला समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त गर्थिन् । सकारात्मक जवाफ आक्कलझुक्कल मात्रै पाउँथिन् । बुधबार सरकारबाट बाहिरिएकी उनको प्रधानमन्त्रीसँग सबैभन्दा ठूलो गुनासो छ– ‘प्रधानमन्त्रीबाट सल्लाह र निर्देशन पाइनँ ।’
यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएर वाहवाही कमाएका लालबाबु पण्डितको दुःख पनि थापाको भन्दा कम छैन । उनी मुलुकको संघीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने अभिभारासहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका थिए । प्रधानमन्त्रीको चाहनाअनुसार उनले काम गर्न सकेनन् या उनको चाहनाअनुसार कर्मचारीतन्त्र चल्न सकेन, खुटिएको छैन । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा मन्त्री बन्दा भने उनले असहज महशुस गरे ।
पण्डित मन्त्री निवासबाट भर्खरै सरेको डेरामा सामान मिलाउँदै थिए भने थापा चाहिँ सोमबार मन्त्री निवास छाड्ने तयारीसहित पोकापन्तुरा मिलाउँदै थिइन् । उनीहरू दुवैलाई एउटै प्रश्न थियो– शनिबार प्रधानमन्त्री निवासबाट केही निम्तो आएको थियो ? अनौपचारिक रूपमा खबर आए पनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न जान नसकेको थापाले जानकारी दिइन् । पण्डितले पनि आफू थप एक–दुई दिन व्यस्त रहने प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री कार्यालयबाट आएको निम्तोबारे मलाई थाहा छैन,’ उनले भने– ‘म दुई दिन जति कोठा मिलाउने काममै व्यस्त हुन्छु ।’
थापा र पण्डित मात्रै होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका सबै मन्त्री रात्रिभोजमा अनुपस्थित रहे । तिनैमध्येका एक पूर्वमन्त्रीले चाहिँ आत्मसम्मानका लागि राजनीति गर्नेहरूलाई खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रतिक्रिया दिए । प्रधानमन्त्रीले खुवाउने खानामा आफूहरूलाई कुनै रुचि नभएको उनले बताए । ‘प्रधानमन्त्रीज्यूकोमा डिनर भनेर बोलाइएको थियो, हाम्रो घरमा ‘भात’ पाकेको थियो,’ उनले भने– ‘डिनरमा रुचि थिएन, त्यसैले गइएन ।’
पूर्वउद्योगमन्त्री मातृका यादव र कृषि राज्यमन्त्रीबाट पदमुक्त भएकी रामकुमारी चौधरीले पनि आफूहरूलाई निम्तो आए पनि फुर्सद नभएका कारण जान नसकिएको बताए । यादवले त आफूलाई जान मिल्ने अवस्था नभएको भन्दै यस विषयमा थप नसोध्न आग्रह गरे । जिम्मेवारीमुक्त भएका, नवनियुक्त र बहालवाला मन्त्रीहरूका लागि प्रधानमन्त्री ओलीले रात्रिभोज आयोजना गरेर उनीहरूलाई दम्पतीसहित आउन निम्तो दिएका थिए । बेलुका ६ बजेतिर सुरु भएको भोज राति ८ बजे सकिएको खबर बिनु सुवेदीको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।