मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धका कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भिसा प्रकरणलगायतका अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि आफ्नो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकट–अप्रकट रुपमा चीनबाट कुरा उठ्न थालेका छन् ।
अनौपचारिक संवादमा चिनियाँ उच्चाधिकारी भन्छन्– अमेरिकनलाई पनि पहिले चिनियाँ पर्यटकसरह पाँच महिना (एक सय ५० दिन) को प्रवेशशाज्ञा दिइन्थ्यो भने अब एकैचोटिमा ६ महिना बस्न पाइने गरी ५ वर्षको एकमुष्ठ भिषा दिने प्रचलन सुरु भएको छ । उनीहरुको भनाइ छ– ‘सबभन्दा बढी पर्यटक हामीले पठाउने, नेपाली भूमि प्रयोग गरी गिजोलिरहनेलाई च्याप्ने, बरु प्रत्यक्ष–अप्रत्यक्ष रुपले विकास निर्माणका अनेक सहयोगमार्फत गुण लगाइरहेको छिमेकीलाई यस्तो व्यवहार गर्ने ?’
सुपुर्दगी सन्धिको प्रस्ताव वर्षौंदेखि अड्किएकामा अघिल्लो महिना ब्युँतियो । गृहसचिवको नेतृत्वमा रातारात उच्च गतिमा मस्यौदा तयार पनि भयो । तर, त्यो डकुमेन्ट दुई देशका राष्ट्रपतिको उपस्थितिमा हस्ताक्षर गर्ने बेला एजेन्डाबाटै उडाइयो । यसमा पनि चिनियाँको चित्तदुखाइ छ ।
त्यही बेला काठमाडौं बस्दाबस्दै ‘चीनविरोधी गतिविधि गर्नेको हड्डी धुलो परिनेछ’ भनी राष्ट्रपति सी चिनफिङको अभिव्यक्ति आएको हो । त्यसको सांकेतिक अर्थ बल्ल खुल्न थालेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।