‘सशस्त्र गतिविधि’ मा लाग्दानलाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफैं औंल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वाभाविक नै भए पनि आन्दोलनलाई क्षति पुर्याउने खालका समस्याहरु आलि बढी नै देखापरेको सो पार्टीले महशुस गरेको छ ।
पार्टीमाथि ‘प्रतिबन्ध’ पछि आँकलन गरेभन्दा बढी नै आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको सो पार्टीको ठहर छ । कार्यकर्तादेखि आरबीएम (क्षेत्रीय ब्युरो सदस्य), सीसीएम (केन्द्रीय सदस्य) र पीबीएम (पोलिट्ब्युरो सदस्य) सम्ममा यी प्रवृत्ति देखिएको सोही पार्टीले स्वीकार गरेको छ ।
उक्त पार्टीको पछिल्लो राजनीतिक दस्तावेजमा भनिएको छ– ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उहाँकै सुरक्षा स्टाफ आशिषले सेल्टरसम्मै प्रहरी पुर्यायो । उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमान्डर राजीव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए । त्यसपछि एक वर्षदेखि जिम्मेवारीमा नखटेका र पार्टी नीतिविपरीत बोलेका कारण निलम्बनमा परेका पीबीएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्वपीबीएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’
विप्लव नेकपाको आत्मसमीक्षासम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।