संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई विकास समितिमार्फत भाडामा दिने तयारी गरेको छ । सोमबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ जारी गरेलगत्तै मन्त्रालयले सो तयारी गरेको हो ।
यसअघि मन्त्रीसहितको टोलीले संग्रहालय अवलोकन गरेर नेपाल भ्रमण वर्षअगावै लमजुङ कक्ष र फोहरा बगैंचाको व्यवस्थापन गर्न सांग्रिला होटललाई दिने तयारी गरेको थियो । संग्रहालयको लमजुङ कक्ष भाडामा दिने विषयमा नेपाल समाचार प्रकाशित भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संग्रहालयलाई असर पर्ने कुनै पनि काम नगर्ने भन्दै ट्विट गरेका थिए ।
मन्त्री भट्टराईको सो भनाइको आशय भाडामा नदिने भन्ने थिएन । सञ्चार माध्यममा बढी ‘हल्ला’ चलेपछि मन्त्रालय चुप बसेको थियो । विकास समिति गठन आदेशसँगै सो विषयले पुनः चर्चा पाएको छ । ‘विकास समिति गठनपछि कार्यकारी निर्देशक नियुक्त गरी सो विषयमा प्रवेश गरेर भाडामा दिने तयारी भइरहेको छ’– स्रोतले भनेको खबर ईश्वरराज ढकालको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।