newskoseli.Com

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन २ जना तत्पर : के–कसाे हुँदैछ प्रक्रिया ?

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो  ।

त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एक जना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । प्रधानमन्त्री ओलीसँग उनीहरूको घनिष्ठ पारिवारिक नाता छ  ।

उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायतका परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ ।

प्रत्यारोपणबारे जानकार विज्ञका अनुसार नेपालमा सुरुमा विस्तृत स्वास्थ्य परीक्षण गरेर मिर्गौला दिन मिल्ने यकिन भइसकेपछि मात्र अन्तिममा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरिन्छ । ‘एचएलए टाइपिङ’ मिलेमा र ‘क्रसम्याच नेगेटिभ’ भएमा मात्र प्रत्यारोपण गरिनेछ । ‘एचएलए’ नमिलेमा वा ‘क्रसम्याच पोजेटिभ’ भएमा अर्को सम्भावित दाता खोज्नुपर्ने हुन्छ ।

तर, विदेशी विकसित मुलुकमा भने सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ रिपोर्ट हेरेर मिर्गौला दिन मिल्ने यकिन भएमात्र अरू परीक्षण गरिन्छ । ‘यी दुवै परीक्षण अत्यन्तै महँगा हुन्छन्,’ एक मिर्गौला रोग विशेषज्ञले भने– ‘सबै परीक्षण सकाएर प्रत्यारोपणमा नगए दुई सातापछि क्रसम्याच दोहोर्‍याउनुपर्ने भएकाले नेपालमा भने अन्तिममा मात्र गरिन्छ ।’ तर पनि दोस्रो पटक प्रत्यारोपणका लागि तयार पारिएका सम्भावित दाताको पहिले ‘क्रसम्याच’ सकेर मात्र अन्य परीक्षण गर्नु बढी सहज हुने उनको सुझाव छ ।

‘एचएलए म्याच नभए पनि क्रसम्याच नेगेटिभ भए निस्संकोच प्रत्यारोपणमा जान सकिन्छ,’ उनले भने– ‘नेपालमा भने एचएलए म्याच पोजिटिभ र क्रसम्याच नेगेटिभ भए मात्र त्यसलाई प्राथमिकता दिइन्छ । एचएलए म्याच नभएको खण्डमा सकेसम्म प्रत्यारोपण गरिन्न ।’

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका दुई महिलाको सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरियो–गरिएन भन्नेबारे आफू जानकार नरहेको स्रोतले बतायो  । ‘प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपणका लागि सम्भावित दाताको स्वास्थ्य परीक्षण भइरहेको हुँदा उहाँहरूको एचएलए नभए पनि क्रसम्याच परीक्षण भइसक्यो होला भन्ने मेरो अनुमान छ,’ स्रोतले भन्यो– ‘सम्भावित दाता भनेर सबै परीक्षण गरेर क्रसम्याच नै भएन भने फेरि अर्को खोज्नुपर्ने हुन्छ । त्यसैले, पहिला क्रसम्याच गराएर मात्र अरू परीक्षण गरेको हुनुपर्छ भन्ने मलाई लागेको छ, त्यो नै सुरक्षित तरिका हो ।’

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका निम्ति दाता भेटिइसकेको तर प्रत्यारोपणाचाहिँ कहाँ गराउने भन्ने यकिन नभइसकेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर