प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा देखिएका छन् । गतवर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि भने सार्वजनिक गरेको छ ।
गत वर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरु ऋणमा रहेको देखाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो २ करोड ७१ लाख ऋणमा छन् । व्यवसायका लागि बैंकबाट ऋण लिएको उनले बताएका छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले १ करोड २२ लाख ८७ हजार ऋण लिएको विवरण गतवर्ष पेस गरेका थिए । एक वर्षमा उनले एक बैंकबाट लिएको ४ लाख ३२ हजार ऋण घटाएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियत पनि १८ लाख ऋणमा छन् । उनले एक वर्षमा ५५ लाख सम्पत्ति थप गरेको देखिन्छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले गत वर्ष झैं यो वर्ष पनि ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।