मंसिर २९ देखि सुरु भएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक शनिबार सक्ने तयारी थियो । तर, पहिले सचिवालयको बैठक बसेकाले ११ बजे बोलाइएको स्थायी कमिटीको बैठक ढिलो सुरु भयो । ढिलै सुरु भएको बैठकमा समेत झन्डै एक दर्जन युवानेता गायब थिए । तर, उनीहरु कहाँ गएका हुन् भन्नेमा बैठकको अध्यक्षता गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बैठक सञ्चालन गरिरहेका महासचिव विष्णु पौडेललाई ‘औपचारिक जानकारी’ थिएन ।
यद्यपि ती नेताहरु कहाँ छन् र कोसँग छलफल गरिरहेका छन् भन्ने सूचना चाहिँ दाहाल र पौडेलसँग पुगिसकेको थियो किनभने ती दस नेतामध्ये एक जनाले प्रचण्डलाई सूचना दिएका थिए । स्थायी कमिटीको बैठक सुरु भएको एक घन्टा भइसकेको थियो । ४५ सदस्यीय स्थायी कमिटीमध्ये एकै पटक दस जना नेता बैठक हलमा प्रवेश गरे ।
बैठकमा अचानक एक हुल नेता हलमा पसेको देखेर सहभागी अरु नेताले अचम्म माने । तर, अध्यक्ष प्रचण्ड भने कड्किए । र, ती नेताहरुलाई सिधै प्रश्न सोधे– ‘तपाईंहरु बैठकमा किन ढिलो आउनुभयो ? कहाँ जानुभएको थियो ? मलाई जानकारी भएअनुसार राष्ट्रपतिकहाँ जानुभएको थियो । यसबारे अध्यक्षलाई जानकारी दिनु पर्दथ्यो कि पर्दैनथ्यो ? पहिले केपी ओली र म राष्ट्रपतिकहाँ जाँदा मिडियाले कुरा उठाए । हाम्रो र राष्ट्रपतिको आलोचना भयो । आज केही साथीहरु राष्ट्रपतिले बोलाएर नै जानुभयो भन्ने बुझियो ।’
प्रचण्ड यतिमै मात्र रोकिएनन् र थपे– ‘पहिले प्रधानमन्त्री केपी ओलीजी र म उहाँ (राष्ट्रपति) लाई भेट्न गएकामा गल्ती भएको जस्तो लागेको छ मलाई । अहिले पनि बैठक चलिरहेका बेला साथीहरु जानुभयो, राष्ट्रपतिज्यूले पनि बैठक चलिरहेका बेला नबोलाएको भए हुन्थ्यो । अब फेरि कुरा उठ्छ, तपाईंहरु पनि गएर समयमै आउनुभएन ।’
युवानेताहरूको त्यो कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट देखिए । र, उनले ती नेताहरुलाई थप प्रश्न गरे– ‘तपाईंहरु उहाँ (राष्ट्रपति) लाई भेट्न जाँदा मलाई जानकारी दिनु नपर्ने ? बैठक चलिरहेको छ, एकै पटक यति धेरै नेता जाँदा औपचारिक रुपमा नभनी हिँड्ने ? यो के हो ? यो विधिको कुरा हो कि होइन ?’
अध्यक्ष प्रचण्डले एकपछि अर्को गरेर प्रश्न र विधि–पद्धतिको कुरा उठाएपछि राष्ट्रपतिलाई भेट्न गएकामध्ये एक नेता प्रदीप ज्ञवालीले स्पष्टीकरण दिए । ‘राष्ट्रपतिज्यूले भेट्ने कार्यक्रम पहिल्यै तय भएको थियो । पार्टीको बैठक लम्बिएला भन्ने थिएन, आज ११ बजे भेट्ने भन्ने थियो, बैठक भएको हुँदा ९ बजेलाई सारियो । त्यहाँ केहीबेर छलफल भयो । राष्ट्रपतिज्यूले अरु केही कुरा गर्नुभएन । नेपालको अर्थतन्त्रबारे थोरै जिज्ञासा र आफ्ना कुरा राख्नुभयो, हामीले सुन्यौं । खाना पाकिरहेको थियो, खाएर आउँदा ढिलो भयो । अध्यक्षलाई जानकारी दिन पनि सकिएन । ढिलो भएकामा सबैको तर्फबाट क्षमा माग्छु’– ज्ञवालीले बैठकमा भनेका थिए ।
ज्ञवालीको स्पष्टीकरणपछि प्रचण्डले नियमित कार्यसूचीमै बेठक अगाडि बढाउन खोजे तर अरु नेताले मानेनन् । ज्ञवाली बोलेलगत्तै भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगायतका नेताहरु बैठकमा कड्किए । ‘राष्ट्रपतिले जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’ रावलले प्रश्न तेर्स्याए । पार्टीको बैठक नै प्रभावित पार्ने गरी अरु नेताले पनि ‘राष्ट्रपतिले किन भेटघाट गर्ने’ भनेर प्रश्न उठाए ।
बैठकमा निकै हल्लाखल्ला भएपछि अध्यक्ष प्रचणडले नै हस्तक्षेप गरे । ‘राष्ट्रपतिसँग भेट्नै हुन्न भन्ने कुरा मैले गरेको होइन । तर, बैठक चलिरहेका बेला उहाँ (राष्ट्रपति) ले नबोलाएको भए हुन्थ्यो । बाहिर यसको प्रभाव के पर्छ भन्ने भएर नै हो । दोस्रो कुरा, त्यहाँ के भयो, जानकारी पनि पाऊम् भनेर पनि हो । उहाँ (प्रदीप ज्ञवाली) ले क्षमा माग्नुभयो, त्यहाँ भएको छलफलको बारेमा पनि जानकारी गराउनु भयो, अब यो कुरा यहीं सकियो’– प्रचण्डले भनेका थिए ।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ९ बजे मन्त्रीहरू प्रदीप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत र युवराज खतिवडालाई आफ्नो निवासमा बोलाएकी थिइन् । त्यस्तै, प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि बोलाएकी थिइन् । उनले नेकपा स्थायी कमिटीका सदस्यहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार समेत रहेका विष्णु रिमाललाई बोलाएर मुलुकको अर्थतन्त्र र समसायिक विषयमा छलफल गरेको खबर बबिता शर्माको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।